![Slide background](http://shaktisamuha.org.np/wp-content/uploads/2015/03/1.jpg)
रोकिएन चेली बिक्री
कपिलवस्तु, चैत् ७ –
गाउँकै ५ युवतीलाई नाका कटाउँदै गरेको अवस्थामा प्यूठान बांगेसाल गाविस ७ का चन्दबहादुर जीसी पक्राउ परे । उनी अहिले पुर्पक्षका लागि थुनामा छन् । ओसारपसारमा संलग्न आरोपित मार्सल विक फरार छन् । युवती २६ देखि ३२ वर्षका थिए ।
अफ्रिकी मुलुकमा रोजगारी पाउने प्रलोभनमा भारत जाँदै गरेका ४ युवती र १ युवक कृष्णनगर नाकामा गत भदौ ५ गते पक्राउ परे । काठमाडौंबाट ल्याउने क्रममा बिचौलियाले युवतीलाई विदेशमा ग्राहकलाई यौनसन्तुष्टी दिनु पर्ने बताएपछि विवाद भयो । युवतीसँग घर फर्किन आर्थिक अभाव थियो । बाध्यतामा परेका उनीहरूलाई फकाएर सीमा कटाउन लाग्दा सँगै बिदेसिन हिँडेका गोरखाका युवाले टेलिफोनमार्फत प्रहरीलाई जानकारी गराए । त्यसपछि बिचौलिया पक्राउ परे । युवतीलाई नाका पार गर्न अर्हाएर ३ जना भारतीय बजार बढनीमा कुरेर बसेका थिए । शान्ति पुनस्र्थापना गृहले २ युवतीलाई सीमामा र अरू २ लाई होटेलमा बन्धक बनाएको अवस्थामा उद्धार गरेको थियो । उनीहरूसित राहदानी थिएन । ललितपुरमा डेरा गरी बस्ने लक्ष्मी पुरी, रूपन्देही रुद्रपुरका रेशमलाल पराजुली र भारत पन्जाबका जोगेन्द्र सिंहले उनीहरूलाई लैजाँदै थिए । अहिले बिचौलिया पुर्पक्षका लागि थुनामा छन् ।
फागुन २४ गते प्रहरीले काम लगाइदिने प्रलोभनमा रूपन्देहीको भैरहवा पुर्याएर बन्धक बनाएर यौनकार्यमा लगाइएका बुटवलका ३ बालिकालाई उद्धार गर्यो । ११, १३ र १४ वर्षका उनीहरूलाई म्याग्दी होटेलमा राखिएको थियो । बुटवलकी सीता चौधरीले पुर्याएकी थिइन् । उद्धार गरिएका बालिका अहिले माइती नेपालको आवधिक गृहमा छन् । आरोपित फरार छन् । होटेल सञ्चालक कुलबहादुर र दिलमाया पुनविरुद्ध प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दा अगाडि बढाएको छ ।
फागुन १२ मा भारतीय नाचघरमा काम लगाउन सीमा कटाउने क्रममा बेलहिया नाका –सुनौली) बाट केआई नेपाल नामक संस्थाले चितवन, दाङ र सिन्धुपाल्चोकका ५ युवतीलाई उद्धार गर्यो । उनीहरूलाई बेचबिखन उद्देश्यले लैजाँदै गरेको आरोपमा पुरानो दिल्लीका मनोज सेट्ठी भन्ने आलगार स्वामी, मनोज सौदर, काठमाडौं बस्ने बागलुङ नगरपालिका ४ का सागर प्रधान र चितवन रत्ननगरका सागर आचार्य पक्राउ परेका छन् । प्रहरीले उनीहरूविरुद्ध फागुन १७ मा मानव बेचबिखन मुद्दा अदालतमा दर्ता गरेको छ ।
मध्य क्षेत्रस्थित पर्साको वीरगन्ज, ठोरी, रूपन्देहीको बेलहिया –सुनौली) र कपिलवस्तुको कृष्णनगर वर्षौंदेखि चेली बेचबिखन गर्न लैजाने नाकाका रूपमा प्रयोग भइरहेका छन् । सुरक्षाकर्मी र विभिन्न गैरसरकारी संस्थाले निगरानी गर्दै आए पनि ओसारपसार थामिएको छैन । यसमा संलग्नले नयाँ शैली अपनाउँदै ग्रामीण क्षेत्रबाट महिलालाई सीमा कटाइरहेका छन् । नाकामा हुने भइरहेको युवतीको उद्धार र बिचौलिया पक्राउको क्रमले चेली बिक्री नरोकिएको पुष्टि हुन्छ ।
कपिलवस्तुको कृष्णनगर चेलीलाई भारतका विभिन्न सहर पुर्याउन सजिलो नाका बनेको छ । भारत हुँदै तेस्रो मुलुक लैजान पनि यही नाका प्रयोग भइरहेको छ । बितेका २ वर्षयता पक्राउ परेका पीडित र बिचौलियाको संख्याले बेचिने क्रम बढेको देखाउँछ । विदेशमा होटेल, रेस्टुरेन्ट र अपार्टमेन्टमा रोजगारी लगाइदिने भन्दै लाने गरिएको छ । त्यहाँबाट दिल्ली, मुम्बई, पन्जाब र मध्य प्रदेशसम्म सीधै बस, जिप सेवा भएकाले एजेन्टलाई सजिलो हुने गरेको छ । कोलकातासम्म रेल सेवा छ । राजधानी दिल्लीसम्म मुलुकबाट बस र जिप सेवा भएकाले उनीहरू आकषिर्त भएका हुन् । काठमाडौं, काँकडभिट्टा र पोखरासम्म बस सेवा छ । ती क्षेत्रबाट यहाँ ल्याएर सीमा कटाउने गरिएको छ । पछिल्लो समय एजेन्टले भनेको ठाउँमा बिचौलियाले पुर्याउने गर्छन् । बिचौलियाले १ जना युवतीलाई सीमा कटाएबापत ५ देखि १५ हजार पाउने गरेको इलाका प्रहरी कृष्णनगरका निरीक्षक डिलबहादुर मल्लले बताए । ‘मुख्य दलाल पक्राउ पर्दैनन्,’ उनले भने, ‘समातिने बिचौलया हुन् ।‘
ओसारपसार बढ्यो
रूपन्देहीमा अवैध ओसारपसार तथा बेचबिखनका घटना बढेका छन् । जिल्लाबाट भारत पुर्याएर युवती बिक्री गर्ने समस्या पुरानै हो । अहिले मुलुकभित्र किनबेच हुन थालेको छ । सहरका होटेल तथा रेस्टुरेन्ट पुर्याएर बन्धक बनाउँदै नाच्न, जटिल काम गर्न र यौन क्रियाकलापमा लगाउने गरेको पाइएको छ । यस्ता क्रियाकलापबारे कतिपय अभिभावकलाई जानकारी हुन्छ । उनीहरूले घटना लुकाउँदा धेरै आरोपीमाथि कारबाही हुन नसकेको प्रहरीको भनाइ छ । यसको उदाहरण बुटवल ११ इँटाभट्टीकी १४ वर्षीया एक किशोरी हुन् । गत पुसमा उनी एक्कासि हराइन् । कक्षा ८ मा अध्ययनरत किशोरीलाई प्रहरीको सहयोगमा अभिभावकले १० दिनपछि राजधानीबाट उद्धार गरेर ल्याए । चिनजानकी दिदीले उक्साएपछि साथ लागेकी उनलाई ‘डान्स गर्ल‘ बनाइएको थियो । अभिभावकको आग्रहमा उनको मुद्दा दर्ता भएन । अरोपी अहिले खुलेआम हिँडेकी छिन् । न्यायिक प्रक्रियामा ढिलाइ र सार्वजनिक भएपछि ‘इज्जत‘ जाने डरले कारबाही प्रक्रियामा नलागेको पीडितका बाबुले बताए ।
चालू आवको ८ महिनामा बेचबिखन गर्ने उद्देश्यले सुनौली नाका कटाउने क्रममा ५९ चेलीलाई उद्धार गरिएको छ । गत वर्ष १ सय ३७ र अघिल्लो वर्ष ७० को उद्धार गरिएको थियो । अवैध ओसारपसारमा संलग्न व्यक्ति भने पक्राउ परेका छैनन् । प्रहरीका अनुसार गाउँबाट सीमा क्षेत्रमा युवती पुर्याएर दलाल सुरक्षित स्थानमा पुग्ने गर्छन् । महिलालाई सीमा पार गर्न लाएर आफू पहिल्यै भारतीय क्षेत्रमा पुग्ने गरेका छन् । पीडितले यस्ता व्यक्तिको सक्कली परिचय बताउन सक्दैनन् । पहिचान नखुल्ने भएकाले पक्राउ गर्न र कारबाही बढाउन नसकिएको अनुसन्धानमा संलग्न बताउँछन् । पीडितले आरोपीलाई लुकाउँदा पक्राउ गर्न र मुद्दा प्रक्रियामा लैजान नसकेको डीएसपी रमेशकुमार पोखरेलले बताए । जिल्ला प्रहरीका अनुसार चालू आर्थिक वर्षको ८ महिनामा मानव बेचबिखन तथा ओसारपसारविरुद्धका १० मुद्दा दर्ता भए । १६ आरोपी पक्राउ परेका छन् । २ मुद्दाका आरोपी फरार छन् । गत वर्ष ६ र अघिल्लो वर्ष ११ मुद्दा दर्ता भएका थिए । कपिलवस्तुमा गत आवमा बेचबिखन तथा ओसारप्रसारमा ४ मुद्दा दर्ता भएका थिए । पक्राउ परेका ५ पुर्पक्षका लागि थुनामा छन् । अरू ४ फरार छन् । त्यस्तै चालू आवको ८ महिनामा २ मुद्दा दर्ता भएका छन् । पक्राउ परेका ४ जना पुर्पक्षमा छन् ।
देखासिकीले फन्दामा
दर्ता भएका घटनाअनुसार छिटो धनी र सुखी बन्ने महत्त्वाकांक्षाले युवतीहरू फन्दामा पर्ने गरेका छन् । सम्पन्न हुने अभिलाशा पालेका युवती, हिंसामा परेका, अभिभावक गुमाएका, एकल महिला उच्च जोखिममा छन् । देखासिकी गरेर राम्रो लाउने, मीठो खाने, छिटो धनी बन्ने, धनी युवकसित प्रेम तथा बिहे गर्ने मनोकांक्षा भएकाहरू यस्तोमा परेका छन् । यस्तालाई छोटो समयमा अपरिचितले फोन गर्ने, नाता जोड्ने, भेटघाट गर्ने र राम्रो जागिर लगाइदिने, प्रेम तथा बिहेको प्रलोभनमा पार्छन् । त्यस आधारमा सीमा कटाउने क्रम बढेको छ । केही वर्ष अघिसम्म दलालको ओसारपसार गन्तव्य भारत हुन्थ्यो । अहिले मुलुकभित्रका होटेल तथा रेस्टुरेन्ट र खाडी मुलुकमा पठाउने बढेका छन् । यसरी घर छाड्नेसित राहदानी हुँदैन । नत आर्थिक जोहो गर्छन् । जागिर पाउने लोभमा अपरिचितको साथ लाग्छन् । पहिलेजस्तो सीमा कटाउन सहज छैन । खानतलासी छल्न कतिपयले विवाह गरेको कागजात बनाएर ल्याउने गरेको कपिलवस्तुस्थित शान्ति पुनस्र्थापना केन्द्रका संयोजक भूमिराज भट्टराईले बताए । उनका अनुसार केहीले हिन्दु महिलालाई बुर्का पहिराएर लैजाने गर्छन् ।
दलालले नाका फेरे
केही समययता वीरगन्ज नाका हुँदै बेचबिखनका लागि लगिने चेलीको उद्धार हुने क्रम घटेको छ । यसले सरोकारवाला खुसी छैनन् । चिन्ता झन् बढेको छ । कारण दलालले नाका परिवर्तन गरेको आंशका छ । माइती नेपाल आवधिक गृह प्रमुख संगीता पुरी पछिल्लो समय वीरगन्ज र ठोरीमा निगरानी बढाएपछि गिरोहले नाका परिवर्तन गरेको बताउँछिन् । ‘३/४ महिनायता उद्धार घटेको छ,’ उनले भनिन्, ‘दलालले रौतहट, सर्लाही, महोत्तरी, सिरहासम्मका नाका प्रयोग गर्न थालेको हाम्रो सूचनामा आएको छ ।‘ ती जिल्लाका नाकामा निगरानी नभएकाले त्यता केन्दि्रत भएको हुनसक्ने उनले बताइन् । गत आर्थिक वर्ष माइती नेपालले श्रम तथा यौनशोषणमा परेका १ सय ८७ लाई सीमाबाट उद्धार गरेर आफ्नो आवधिक गृहमा संरक्षण दिएको थियो । गत वर्ष भारतको मुम्बई, दिल्ली, कोलकाता, आसाम, मुजफ्फरपुर, बेतिया, सुगौली समेतबाट गरी विभिन्न आर्केस्ट्रा (व्यावसायिक नृत्य गर्ने कम्पनी) तथा कोठीबाट ३० चेलीलाई उद्धार गरी ल्याएको पुरीले बताइन् ।
८ महिनामा ११५ हराए
– प्रताप विष्ट
हेटौंडा– यहाँका युवराज शर्मा वैदेशिक रोजगारीमा ३ वर्ष बिताएर एक महिनाअघि घर फर्के । परिवार मिलनको हर्ष धेरै टिकेन । उनी आएको दोस्रो दिन श्रीमती सरस्वती सम्पर्कविहीन भइन् । पतिले कमाएर पठाएको रुपैयाँको हिसाब बुझाउन नसकेर उनी हराएको खुल्यो । हर्नामाडीकी बासिन्दा किनमेल गर्न बजार गएर फर्किनन् । उनीहरूका ५ र ७ वर्षका २ छोरी छन् । परिवारका अनुसार पतिले पठाएको ५ लाख रुपैयाँ बहिनीलाई दिएकी थिइन् ।
उनको अवस्था खुल्न सकेको छैन । अहिले महिलाको खोजी गरिरहेको प्रहरी उपरीक्षक प्रकाशजंग कार्कीले बताए । ‘माइतीलगायत सम्भावित स्थानमा खोजी गरिसक्यौं,’ उनले भने ।‘ यस्तै हेटांैडा उपमहानगर वसामाडीका सुमन न्यौप्ााने २ वर्षअघि जापान गए । त्यसअवधिमा १५ लाख रुपैयाँ पत्नी पवित्राको नाममा हिमालयन बैंकमा पठाए । पैसा झिकेर पत्नीले दोस्रो बिहे गरेर हराइन् । अहिले उनी गाउँकै केटासँग विवाह गरेर भारतको दिल्लीमा बसिरहेको प्रहरीले जनाएको छ । सुमनको परिवारले पवित्राको खोजी गरिदन प्रहरीमा निवेदन दिए । भारतीय प्रहरीसँग समन्वय गरेर दिल्लीमा भएको पत्ता लगाएको हो ।
सँगै मर्ने/बाँच्ने कसम खाएर यहाँका हरेराम र चमेलीमाया कार्कीले बिहे गरेका थिए । त्यसलगत्तै हरेराम मलेसिया रोजगारीमा गए । पति गएको १ वर्ष नबित्दै पत्नी उनलाई छाडेर गइन् । ६ लाख कुम्ल्याएर हराएको १ महिना पुगेको छैन । गाउँकै केटासँग विवाह गरेर भागेको अनुमान परिवारले गरेका छन् । माइतीले छोरी केटाका परिवारले ‘बेपत्ता‘ पारेको आरोप लगाएर प्रहरीमा उजुरी दिएका छन् । प्रेम विवाह गरेकी पत्नीले १ वर्षको कमाइ कुम्ल्याएर घर छाडेपछि उनी मलेसियामा बिरामी परेका छन् ।
छतिवन ७ की २२ वर्षीया नानीमैया थिङ सम्पर्कमा छैनन् । पतिले सौता हालेपछि उनी सम्पर्कविहीन भएकी हुन् । पतिले दुव्र्यवहार र कुटपिट गरेकाले भागेको छिमेकीले बताए । अहिले कहाँ छिन पत्ता लागेको छैन । माइती पक्षले खोजी गरिदन लिखित रूपमा अनुरोध गरेकाले अनुसन्धान जारी रहेको प्रहरीले जनायो । यी प्रतिनिधि उदाहरण हुन् । मकवानपुरमा ८ महिनामा १ सय १५ महिला हराएका छन् । तिनमा धेरै पति वैदेशिक रोजगारीमा गएकाहरू छन् । धन कमाएर परिवार सुखी बनाउने उद्देश्यले बिदेसिनेको परिवार उजाडिएका छन् ।
‘केही पति घर फर्केपछि हराउने छन्, कोही विदेशमा भएका बेला गायब भइरहेका छन्,’ जिल्ला प्रहरीको महिला सेल प्रमुख दीपा कार्कीले भनिन्, ‘अहिले हराउने प्रवृत्ति बनेको छ ।‘ प्रहरीमा दर्ता उजुरी हेर्दा पति विदेश भएका महिला बढी हराएको देखिन्छ । ‘विदेशवाट श्रीमान्ले पठाएको पैसा हिनामिना गरेर वा कुम्ल्याएर भाग्ने प्रवृत्ति महिलामा देखापरेको छ,’ सेल प्रमुख कार्कीले बताइन् । तथ्यांकअनुसार चालू वर्षको साउनमा ११ हराएका थिए । फागुनमा १५ हराए । कात्तिकमा ३० हराएका थिए ।
दसैंतिहारका बेला धेरै हराउँछन् । त्यसअवधिमा पैसा धेरै आउने गर्छ । त्यसैले कात्तिकमा ३० जना हराएका हुन् । गत आवमा ९५ जना हराएका थिए । यस वर्षको ७ महिनामा गत वर्ष तुलनामा बढी महिला हराइसकेका छन् । गत आवमा हराएकामध्ये २५ जना फेला परे । ७० जना अझै सम्पर्कविहीन छन् । चालू आवको साउन महिनादेखि फागुनसम्म १ सय १५ जना हराएकोमा २१ जना फेला परेका छन् । ९४ जनाको पत्तो छैन । ‘महिला बेपत्ता भएको र हराएको लिखित रूपमा जानकारी दिने गरेका छन् । तर, फेला परेपछि जानकारी नदिने भएकाले हराउनेको संख्या बढेको हो,’ प्रहरी उपरीक्षक कार्कीले बताए ।
प्रकाशित मिति: २०७१ चैत्र ८ ०८:३७
link : http://www.ekantipur.com/kantipur/2071/12/7/full-story/342792.html