ललितपुर, वैशाख २८। विनासकारी भूकम्पपछि सहयोग गर्ने वहानामा महिला वेचविखन हुनसक्ने भन्दै वेचविखनविरुद्ध काम गरिरहेको संस्था शक्ति समूहले यस तर्फ सवैलाई सचेत गराएको छ।
समूहले महिला बेचविखनबाट प्रभावित जिल्ला नुवाकोट र सिन्धुपाल्चोक पनि भूकम्पबाट धेरै प्रभावित भएकाले यी जिल्लामा यतिवेला महिला वेचविखन हुनसक्ने जोखिम रहेको भन्दै राहत वितरणका क्रममा यस सम्बन्धि सचेतना कार्यक्रम पनि सँगसँगै गरिएको जनाएको छ। प्रभावित जिल्लाहरुमा राहत र उद्धारका लागि खटिएका अन्य टोलीसँग पनि वेचविखनविरुद्ध सचेतनाका लागि समन्वय गरिरहेको शक्ति समूहले जनाएको छ। ‘बालबालिका, किशोरी तथा महिला सबैभन्दा बढी यस विपत्तिबाट प्रभावित भएको र यसमा पनि अभिभावक गुमाएका बालिका तथा किशोरीहरु अझ बढी जोखिममा रहेका छन् — समूहले भनेको छ।’
समूहले प्रकाशन गरेको जानकारीमूलक पम्प्लेटमा भनिएको छ—’यस्तो अवस्थामा जो कोहीले सहयोगको आशा देखाई बालबालिका, किशोरकिशोरी तथा महिलालाई आफ्नो फन्दामा पारी उनीहरूमाथि विभिन्न किसिमका हिंसा गर्न सक्ने तथा ललाईफकाई प्रलोभनमा पारेर बेचबिखन समेत गर्न सक्ने जोखिम बढेको छ। यस जटिलतालाई मध्यनजर गर्दै शक्ति समुहले अभिभावक गुमाएका बालिका तथा किशोरीलाई आपतकालिन सुरक्षित आवासको सेवा प्रदान गर्ने जानकारी गराउँदछौं।’
समूहले अभिभावक गुमाएका र सुरक्षित आवासको सेवा आवश्यकता भएका बालिका तथा किशोरीलाई खाने बस्ने व्यवस्था गर्ने जनाएको छ। सहयोगका लागि ९८०३९९६७१९, ०१४४७८११७ नम्बरमा फोन गरेर जानकारी दिन पनि शक्ति समूहले अनुरोध गरेको छ।
प्रकाशित मितिः वैशाख २८ गते साेमवार
– See more at: http://sancharikaonline.com/node/2436#sthash.RzgnIIsD.dpuf