Slide background
Slide background
Slide background

भूकम्पपछि महिला बेचबिखन बढ्यो

माघ २०, २०७२- विनाशकारी भूकम्पपछि महिला तथा बालबालिका बेचबिखनको थप जोखिममा परेको तथ्यांक सार्वजनिक भएको छ । देशभित्र र बाहिरबाट उद्धार भई विभिन्न जिल्लामा रहेका पुन:स्थापना केन्द्रमा आएका महिलाको संख्याले यस वर्ष बेचबिखन बढेको देखिएको हो ।

गत वर्षको चैतसम्म ९ सय ३ महिलाको उद्धार गरिएकोमा यो वर्ष मंसिरसम्ममा ११ सय ६३ महिलाको उद्धार गरिएको मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण राष्ट्रिय समितिको सचिवालयले जनाएको छ । चितवनको पुन:स्थापना केन्द्रमा १ सय १, रूपन्देही केन्द्रमा २ सय ८५, सिन्धुपाल्चोक केन्द्रमा १७, कैलाली केन्द्रमा ४२, पर्सा केन्द्रमा २ सय ८, बाँके केन्द्रमा १ सय ६५, काठमाडौं केन्द्रमा २४ र झापा केन्द्रमा ३ सय २१ जनाको उद्धार गरिएको सचिवालयको तथ्यांकमा छ ।
माइती नेपालका सूचना तथा सञ्चार अधिकृत अच्यूतकुमार वाग्ले संस्थाले भूकम्पअघिका तीन महिनामा ६ सय २५ महिलाको उद्धार गरेको र भूकम्पपछिका ३ महिनामा ७ सय ४५ महिलाको उद्धार गरिएको बताउँछन् । यसरी उद्धार गरिएकाहरूमध्ये अधिकांश भूकम्प प्रभावित जिल्लाका छन् ।
महिला बेचबिखनविरुद्ध क्रियाशील शक्ति समूहले भूकम्पपछि प्रभावित जिल्लाका १६ महिलालाई उद्धार गरी स्वदेश फर्काएको छ । त्यसैगरी सिन्धुपाल्चोकको बन्देउ, भोटेचौर र बाहुनपाटीलगायत गाउँबाट बेचिन लागेका ७५ भन्दा बढी महिला र बालबालिकालाई बेचबिखन हुनबाट जोगाएको समूहका कार्यक्रम संयोजक आशिष दुलालले बताए ।
बेरोजगारीका कारण बेचबिखनका घटनामा वृद्धि भएको महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकी महिला विकास अधिकृत शोभादेवी खरेल बताउँछिन् ।
मानव बेचबिखन तथा ओसारपसारको क्षेत्र दिन प्रतिदिन नयाँ र जटिल बन्दै गएकाले यसलाई नियन्त्रण गर्न सरकारी तथा गैरसरकारी निकाय, नागरिक समाज र विकासका साझेदार संस्थाबीच समन्वयकारी भूमिका हुनुपर्ने महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयकी सहसचिव राधिकार अर्याल बताउँछिन् ।
विगतमा अशिक्षित, गरिब र सीमान्तकृत समुदायका महिला मात्र भारतका ठूला सहरमा वेश्यावृत्तिका लागि बेचिने गरेकामा अहिले विभिन्न श्रम र मनोरञ्जनका लागि समेत किशोरकिशोरी तथा बालबालिकाको प्रयोग हुन थालेको मन्त्रालयकी उपसचिव सुनीता नेपाल बताउँछिन् ।
प्रकाशित: माघ २०, २०७२