• Call Us Now

    01-4578117, Toll Free No. 1660-01-11117
  • Our Address

    Kathmandu-4, Sukedhara, Bagmati province, Nepal

समाचार ‘दलालको आँखामा नेपाली युवतीको ‘गोरो छाला’

home-plan

मंसिर २१, २०७२- मानव तस्करहरुले नेपालबाट छालासमेत तस्करी गर्ने गरेको सम्बद्ध एक संस्थाले जनाएको छ ।

महिला वेचविखनविरुद्ध अभियान चलाइरहेको शक्ति समूहले छाला तस्करीको सूचना आएको बताएको छ । उसले बलिउड नायिकाहरुको छाला प्रत्यारोपणका लागि नेपाली युवतीहरुको बेचविखन हुने गरेको सूचना आउन थालेको जनाएको छ ।

काठमाडौंमा सोमबार भएको एक कार्यक्रममा शक्ति समूहकी अध्यक्ष सुनिता दनुवारले नेपाली युवतीको ‘गोरो छाला’को तस्करीबारे अध्ययन भइरहेको बताइन् । ‘हामीसँग कुनै तथ्य छैन,’ उनले छाला तस्करीबारे भनिन्, ‘बलिउड नायिकको छाला सर्जरीको लागि नेपाली युवतीहरुको गोरो छाला बेचविखन हुने गरेको जानकारीमा आएको छ ।’

भारतीय सञ्चारमाध्यमले यसबारे आफूहरुसँग जिज्ञासा राखेको उल्लेख गर्दै दनुवारले भनिने, ‘यसले हामीलाई गम्भीर बनाएको छ ।’ नेपाली युवतीहरुको गोरो र कोमल छालामा दलालले पनि आँखा लगाएको उनको अनुमान छ ।

दनुवारले म्यारिज ब्यूरो खोलेर संगठितरुपमा महिलाहरुको बेचविखन भइरहेको उनले बताइन् । ‘स्काइपमा महिलाहरुलाई देखाएर चीन र कोरियामा बिहेको नाममा तस्करी गरेको पाइएको छ,’ उनले भनिन्, ‘त्यहाँ यौनदास बनाइएका छन् ।’

नेपालको खुला सीमाको फाइदा उठाउँदै नेपाली युवतीहरुको तस्करी भइरहेको बताउँदै दनुवारले बेचिएका युवतीहरुको संख्याबारे भन्न नसकिने बताइन् । ‘खुला सीमाका कारण तथ्यांक निकाल्न गाह्रो भो,’ उनले भनिन्, ‘सरकारसँग मिलेर काम गरिरहेका छौं ।’

अधिवक्ता दिलिप कोइरालाले गरिवी र अशिक्षाको फाइदा उठाउँदै नेपाली महिलाहरुलाई मनोरञ्जनको क्षेत्रमा प्रयोग गरिएको बताए । उनले बार, रेस्टुरेन्ट र क्यासिनोमा रहेका युवतीहरुको अवस्था दर्दनाक रहेको उल्लेख गरे ।

कोइरालाका अनुसार भूकम्प र नाकाबन्दीले नेपालमा  रेस्टुरेन्ट, बार र क्यासिनो बन्द हुँदै जाँदा तेस्रो मुलुकतर्फ तस्करी हुने गरेको जानकारी दिए ।
शक्ति समूहकी अध्यक्ष दनुवारले पनि भूकम्पपछि महिला बेचविखन झन् बढेको तथ्य प्रस्तुत गरिन् । उनले भूकम्पपीडित क्षेत्रमा सहयोगी बनेर गएका दाताबाट पनि यौनहिंसाका घटना हुने गरेको बताइन् ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्यद्वय टंक पन्त र मात्रिका पौडेलले पनि महिला अधिकारवादी संघ संस्थाहरुले सञ्चारमाध्यमसँग सहकार्य गरेर जनचेतनाको काम अघि बढाउनुपर्नेमा जोड दिए । उनीहरुले नेपाली सञ्चारमाध्यमले महिला हिंसाविरुद्ध साथ दिएको उल्लेख गर्दै तर घटना र तथ्यहरुलाई बाहिर ल्याउन सहयोग गर्न सुझाव दिए ।

कार्यक्रममा महासंघका केन्द्रीय सदस्य लक्की चौधरी, पत्रकारहरु तोया घिमिरे, निशा राई, ईन्द्रलक्ष्मी घिमिरे, ज्ञानेन्द्र खड्का, विनोद ढकाललगायतले पनि हिंसाबाट जोगिने उपायबारे सञ्चारमाध्यमले नै जनचेतनामुलुक काम गर्नुपर्नेमा जोड दिए ।